विराटनगर । लगातारको वर्षासँगै सुनसरी, मोरङ र झापामा सयौँ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण स्थानीय खोलाहरूमा आएको बाढी र कटानका कारण जनजीवन प्रभावित बनेको छ।
मोरङको विराटनगर(१२ स्थित सम्पन्न बस्तीका ७५ घरका करिब ३५० जना बासिन्दा बखरी आ वि दरैया आ वि तथा नयाँ फ्याक्ट्री क्षेत्रमा स्थानान्तरण गरिएको छ। यस्तै, विराटनगर(२ पूर्व सिङ्गिया खोलाको पानी पस्दा ३० देखि ३५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, विराटनगर(५ केशलिया ढाट सङ्करवारि टोलमा केशलिया खोलाको पानी पस्दा २० देखि २५ घरधुरी प्रभावित भई स्थानान्तरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
उनका अनुसार, सुनवर्षी(६ मा बक्राहा खोलाको तटबन्ध मर्मत कार्य जारी रहेको छ भने, सुनवर्शी(३ बाहुनटोलमा सोही खोलाको बाँध कटान हुँदा(६० घरधुरीमा पानी पसेको जानकारी प्राप्त भएको छ।
उर्लाबारी(९ बोर्डर लाइन क्षेत्रमा रतुवा खोलाको पानी पस्दा २० घरका बासिन्दा नजिकैका छिमेकीका घरमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ।स्थानीय प्रशासन र विपद् व्यवस्थापन समिति प्रभावित क्षेत्रमा राहत, उद्धार र मर्मत कार्यमा जुटिरहेको जनाएको उनले जानकारी दिए।
वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोला पसेको छ । बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय विस्थापित भएको प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको छ। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन् ।
उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ । प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेकाहरूलाई आफन्तहरूले सुरक्षित सारेका छन् ।
सुनसरीमा पनि बाढी र कटानका कारण सयौँ परिवार प्रभावित भएका छन् । भोक्राह नरसिंह गाउँपालिकामा सुनसरी खोला गाउँ पसेको छ । तटबन्ध भत्काएर खोला गाउँ पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । यस्तै इटहरी उप महानगर क्षेत्रमा पनि ठाउँ ठाउँमा ट्याङ्ग्रा खोलाको पानी घरमा पसेको छ ।