ईलाम । दुई दिनदेखि निरन्तर आएको अविरल वर्षापछि इलाममा हालसम्म १८ जनाको मृत्यु भईसकेको छ । ईलाम नगरपालिका वडा न. ६ घोस स्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १श्रीअन्तु गणबाट सप्रसनि प्रेम बहादुर बस्नेतको कमाण्डमा ७ जनाको टोली खटिएको र उनिहरुले शव निकालेका हुन् ।
त्यसै गरी ईलाम फाकफोकथुम गाउँपालिका वडा नं ३ रातोमाटे बस्ने बर्ष ३२ को सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यसै गरी ईलामको सुर्योदय नगरपालिका – १ मानेभञ्ज्याङ्ग स्थित राजु क्षेत्रीको घर पहिरोले पुरिएकोमा उक्त घर भित्रबाट संयुक्त टोलीले ४ वटा शव फेला पारेको र १ जना घाईते भई उपचारको लागि लैजाँदै गर्दा बाटोमा नैं मृत्यु भएको छ ।
घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् । इलामको मांसेबुंग गाउँपालिका वडा नम्बर १ मा बाढीले पुल बगाएको छ । मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई नसकेको बताइन् । उनले भनिन् जिल्लामा धेरै ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको खबर आएको छ । घटन स्थलमा प्रहरी पुग्ने क्रम जारी छ । त्यस्तै, माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्दारकोलागि नेपाली सेनाको टोली घटनास्थल तर्फ गएको मौसमको खराबीका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् । इलाममा बिहानबाट पानी रोकिएको छ । पानी रोकिएपछि उद्धारको कार्य जारी रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए । उनले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएकाले क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।
