काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । विभागले रौतहट,वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ। यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ।
पचास भन्दा बढी मापन केन्द्रहरूमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ।