मलेसिया । मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ। मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६।२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ।
नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन्। इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपे। नेपालले इनिङ्सको पहिलो ओभरमा नै लगातार दुई विकेट गुमायो। इनिङ्सको पहिलो ओभरको पहिलो बलमा ओपनर सम्झना खड्का र दोस्रो बलमा कविता कुँवर आउट भए। मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन्।
मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए। त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो। मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि सुमन विष्टले २ विकेट लिइन्। कविता कुँवरले एक विकेट झारिन्। मलेसियाका लागि आइन्ना हामिजाहले नेपालविरुद्ध अर्धशतक पूरा गरिन्। विनिफ्रेडले १५ रन थपिन्।
