काठमाण्डौं । आज बिहानदेखि परेको अबिरल बर्षाका कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ । पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ ।
कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए । उनले भने, आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेको थियो ।
अहिले पानी परेर जहाज उडेको छैन । अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् । कुनै कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।