मलेसिया । नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११स्४५ बजेदेखि सुरु हुनेछ । नेपालले मलेसियासँग हालसम्म ११ पटक टी–२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ ।
पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो । यस शृंखलाअघि तयारी स्वरूप नेपालका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुले। नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी(२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो सिरिज खेल्न लागिएको हो ।
आगामी अक्टोबर ८ सम्म शृंखलाका ५ खेल हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।टोलीका अन्य खेलाडीमा पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर रहेका छन् ।
