काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले २३ भदौमा भएको जेनजी आन्दोलन र २४ मा भएको प्रदर्शनपश्चात् आयोगबाट गरिएको मानव अधिकार अवस्थाको अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले प्रतिवेदन सार्वजनिक गर्दै घटनामा सरकारको आँकलन नै गलत भएको कारण भएको दाबी गरेको छ ।
सरकारले न्यून आँकलन गरेर कम सुरक्षाकर्मी परिचालन गरेको जसका कारण अत्यधिक बल प्रयोग गरेर र त्यही कारण गोली प्रहारसम्मको अवस्था भएको आयोगको प्रतिवेदनमा भनिएको छ । आन्दोलनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगको प्रतिवेदनमा भनिएको छ ।
पहिलो दिनको आन्दोलनमा सुरक्षाकर्मीको गोलीबाट केही व्यक्तिको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ । आगजनीबाट महत्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयहरुमा अत्यधिक क्षति पुगेको देखिएको आयोगले जनाएको छ ।
आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरुको जलेर समेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरु लुटिएको र कतिपय सामानहरु चोरी तथा लुटपाट गरिएको समेत पाइएको आयोगले जनाएको छ ।
घटनापूर्व घटना हुनसक्ने संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको र घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप चुनौती सिर्जना हुन सक्ने अवस्था सिर्जना भएको आयोगको प्रतिवेदनमा भनिएको छ । कारागार तथा बालसुधारगृहबाट बाहिर निस्केका बन्दीहरुको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको प्रतिवेदनमा भनिएको छ ।
