काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा दाहालले यस्तो जोड दिएका हुन्। निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष पहल गर्ने समेत उनले उल्लेख गरे। बैठकमा अध्यक्ष दाहालले राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन्।
नेकपा ( माओवादी केन्द्र ) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजेदेखि बैठक सुरु भएको हो । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राख्नेछन्। ती प्रस्तावहरूबारे समूहगत छलफल हुनेछ। समूहको छलफलबाट निस्किएको निष्कर्ष अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्।
फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ। आजको बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
