काठमाण्डौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि तीनवटा महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत उनले निर्देशनहरू सार्वजनिक गरेका हुन्। मन्त्री पुनको पहिलो निर्देशन देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षालाई अनिवार्य र प्रभावकारी बनाउने सम्बन्धी छ।
‘नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने,’ निर्देशनमा भनिएको छ। दोस्रो निर्देशन विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनमा हुने ढिलासुस्तीप्रति लक्षित छ।
केही विश्वविद्यालयले नतिजा प्रकाशनमा ८ महिनादेखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको भविष्यमा अपूरणीय क्षति पुगेको ठहर गर्दै मन्त्री पुनले परीक्षा सम्पन्न भएको बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिए। उक्त निर्देशन पालना नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी समेत दिए। राष्ट्रिय परीक्षा बोर्डले ५ लाख विद्यार्थीको नतिजा तीन महिनामै निकाल्न सक्ने उदाहरण दिँदै उनले विश्वविद्यालयहरूलाई पनि सोही अनुसार चुस्त बन्न आग्रह गरेका हुन्।
त्यसैगरी, तेस्रो निर्देशनमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हातालाई सुन्दर र आकर्षक बनाउने योजना अघि सारिएको छ। विश्वविद्यालयभित्र ठूलो क्षेत्रफलमा फैलिएको झाडी फाँड्न, ठूला रुखहरूलाई संरक्षण गर्दै सफा गर्न र सुन्दर बगैँचा तथा फुटपाथ निर्माण गरी विश्वविद्यालयलाई आकर्षक बनाउन उनले निर्देशन दिए।