काठमाडौ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् । मन्त्रीको रुपमा आज पद तथा गोपनियताको शपथग्रहण लिएपछि मिडियाकर्मीहरुबाट घेरिएका मन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले आफू किताब बेच्दै गर्दा मन्त्री बनाईएको भन्दै अहिले नै के के योजना छन् भनेर नसोध्नपनि पत्रकारहरुलाई सम्झाए । तर, आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेकोले यसमा नयाँ नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने उनको प्रतिबद्धता छ । ‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए । पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’ उनले अहिलेपनि आफूले युवाहरुलाई सन्देश दिँदा कसैको पुच्छर भएर वा कसैलाई सोधेर भन्दापनि आफ्नो विवेक लगाएर काम गर्न सुझाव दिएको बताए । तर, आफूले युवाहरुलाई जेसुकै गर वा सुतेर बस नभनेको उनको स्पष्टोक्ति थियो ।