काठमाडौ। जेन–जी आन्दोलनका शहीद परिवार, अभियन्ता र युवाहरुले सरकारलाई युवाहरुको बलिदानलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरेका छन् । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले जेनजी शहीदहरुको भावनालाई आत्सात् गर्न सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले जेनजी आन्दोलनको मर्म, भावना र शहीदहरुको योगदानलाई खेर नफाल्न आग्रह गरेका छन् ।
कार्यक्रममा जेन–जी आन्दोलनको क्रममा काठमाडौंमा मृत्युवरण गरेका असहाव आलम ठकुराईका बुवा अमरुद्धिन मियाँ ठकुराईले छोराको सपना पूरा होस भन्ने कामना गरेका छन् । उनले सरकारले आफ्नो परिवारको सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यस्तै, उनले जेन–जी आन्दोलनमा भएको यो बर्बर दमन र हत्याको छानिबनको मागसमेत गरे । उनले यो घट्नामा दोषीहरुलाई कारवाही हुनुपर्ने भन्दै जेनजीको बलिदानअनुसार देश अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
यस्तै, काठमाडौंमा जेन–जी आन्दोलनमा सक्रिय भएका माजिद अन्सारीले विधि र संविधानअनुसार काम गर्न नयाँ सरकारलाई सुझाव दिएका छन् । जेन–जी युवाहरुको बलिदान कुनैपनि हालतमा खेर फाल्न नहुने उनको मत थियो ।
कार्यक्रममा जेन–जी आन्दोलनमा मोरङमा सक्रिय जम्सेद आलमले युवाहरुको कारण अहिलेको परिवर्तन भएको भन्दै जेन–जी युवाहरुको त्याग र बलिदानीलाई खेर नफाल्न सुझाव दिएका छन् । आफूहरुको आन्दोलनको ३६ घण्टाभित्र देशमा परिवर्तन ल्याएको उनको मत छ । तर, आफूहरुको आन्दोलनलाई अपहरण गर्न खोजिएको उनको आरोप छ । आन्दोलनमा सबै समूदायको प्रतिनिधित्व रहेको भन्दै सोहीअनुसार सरकारमा पनि प्रतिनिधित्व हुनुपर्ने उनको माग छ ।
अन्तरिम सरकारमा मधेशी, मस्लिम, थारु, आदिवासी र जनजातिको समावेशिताको आधारमा सहभागिता हुनुपर्ने उनले माग गरे । यस्तै, २०४६ सालपछि हालसम्म कुनैपनि पदमा बसेका सबै नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरिनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ ।
कार्यक्रममा पारितोषकुमार साहलेपनि आफ्नो भनाई राखेका थिए । यस्तै, मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने मोहम्मद नईन राईलेपनि जेन–जी शहीदहरुको भावना र सपनालाई पूरा गर्न सबै लाग्नुपर्ने मत राखे ।