रसुवा कारागारबाट गत भदौ २५ गते फरार भएका ९७ कैदी बन्दीमध्ये ९१ जना कारागार फर्किएका छन्। प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहका अनुसार केही फरार कैदीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भने केहीले आत्मसमर्पण गरेका छन्।
फरार रहेका कैदीहरूको सूचीमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तामाङ, गोसाईंकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ रहेका छन्। यसका अतिरिक्त नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ पनि फरार रहेका छन्।
प्रहरीले फरार कैदीहरूको खोजी जारी राखेको जनाएको छ।