चितवन — नेपालको पहिलो केबलकार, मनकामना केबलकार, आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, गत भदौ २३ र २४ गतेका प्रदर्शनका कारण २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि पुनः सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मतसम्भारका कामहरू गरिएको उनले बताए।
मनकामना केबलकार गोरखाको सिहद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालन गरिएको हो। यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ।