काठमाडौं । प्रधानमन्त्री बनेको दोस्रो दिन सुशीला कार्की घाइतेसँगको भेटघाटका लागि अस्पतालहरुमा घाईतेहरुको अवस्था बुझ्न व्यस्त देखिइन् । गत सोमबार र मंगलबार देशभर चलेको ‘जेनजी आन्दोलन’ पछि सिर्जित प्रतिकूल राजनीतिक अवस्थामा शासनको बागडोर सम्हाल्न आइपुगेकी उनले शनिबार दिनभर अस्पताल र प्रदर्शनकारीबाट क्षतविक्षत संरचनाको अवलोकन गरिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नु अगावै आज जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवाहरूलाई भेटेकी छन् । देशको नयाँ कार्यकारीलाई आफू अगाडि पाउँदा घाइते युवाहरूको अनुहार उज्यालिएको थियो । प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा पुगेर घाइतेहरूलाई हौसला र सान्त्वना दिइन् ।
‘मलाई अहिले कसैले पनि बधाई नदिनुहोला । मेरो कार्यकाल सफल भयो भने बधाई दिँदा हुन्छ,’ उनले भनिन् । ट्रमा सेन्टरको ४३१ नम्बर बेडमा रहेका घाइते युवाले भने, ‘जुन जिम्मेवारी पाउनुभएको छ, त्यो पुरा गरेर सुनौला अक्षरले नाम लेखियोस् ।’ कार्कीले जवाफ फर्काइन्, ‘मलाई कसैले बधाई नभनोस् । मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्रै भनोस् । गर्न सकिएन भने केको बधाई ।’ युवाले ३ करोड नेपालीको आमाको रूपमा लिएको बताए । कार्कीले पनि भनिन्, ‘तपाईँ पनि मेरो एउटा छोरा हो ।’
अर्का घाइते युवाले संघीयता खारेजीका लागि प्रधानमन्त्री कार्कीसँग माग गरे । ती युवाले बेडबाट उठ्न खोज्दै नमस्कार गरेपछि कार्कीले सोधिन् घर कहाँ हो युवकले भने सिन्धुपाल्चोक । हामीले नसके अब तपाईँहरूले गर्नुपर्छ’ कार्कीले भनिन् ।
युवाले भने( ‘तपाईँले त हामीलाई आमाले जस्तो सल्लाह दिने हो । बाटोमा लगाउने हो । मेरो माग भनेको प्रदेश सरकार खारेज हुनुपर्यो । अनि कार्यकारी राष्ट्रप्रमुख हुनुपर्यो । ४८ सालदेखि सरकारी पद धारणा गरेकाहरुको सम्पत्ति शुद्धीकरण र राष्ट्रियकरण हुनुपर्यो । कार्कीले ध्यान दिएर सुने पनि कुनै जवाफ फर्काइनन् । मुन्टो मात्रै हल्लाइन् । प्रधानम्न्त्रीले आफूले सक्दो काम गर्ने र १८ घण्टा खट्ने प्रतिबद्धता जनाइन् । ‘म तपाईंहरुको भवना बुझ्छु । सोहीअनुसार काम गरेरै छोड्छु,’ कार्कीको आश्वासन थियो ।