काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो ।
आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेल प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले साँझ ९ बजे शपथ गराउने तयारी छ । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो ।
राजनीति दलहरुले यही संसद्भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेनजीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन् । काठमाडौंका मेयर बालेन शाहले समेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद्भ विघटन भएको बताउँदै आएका थिए ।
त्यसपछि राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिएका थिए ।
साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन संकटकाल लगाउनुपर्ने भन्दै उनले कार्कीसमेतलाई ब्रिफिङ गरेका थिए । त्यसमा राजनीतिक दलका कतिपय शीर्ष नेताहरुले समेत सहमति जनाएका थिए । तर, दोस्रो तहका नेताहरुको भने संकटकालको पक्षमा सहमति थिएन । उनीहरुले त्यस्तो अवस्था आए सडकमा उत्रिने प्रधानसेनापति सिग्देललाई जवाफ दिएका थिए ।
यस्तोमा तीब्र दबाबका बीच जेनजीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरूसँग परामर्श थालेका थिए ।
त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेन९जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखेका थिए । बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए ।
माओवादी नेताहरू शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरूलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए । त्यसक्रममा दलहरुले जेनजी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका थिए । तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने बताएका थिए । यसैमा कुरा नमिल्दा सरकार गठन प्रक्रिया लम्बिएको थियो ।