काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सबै सांसदले राजीनामा दिएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जानकारी दिए । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए ।
जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ । रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो ।
मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।