काठमाडौं । नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजी नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा १९ जनाको मृत्यु र सैयौँ घाइते भएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनको क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरमा प्रदर्शन भएका जनाएको हो।
काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वरसम्म पुगेपछि प्रदर्शनकारीले संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रयोग गरेको आयोगले जनाएको छ । यस क्रममा आयोगकै अनुगमन टोली र सवारी साधनमाथि समेत आक्रमण भएको आयोगले जनाएको छ । आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनअनुसार नागरिकलाई शान्तिपूर्ण ढङ्गले विमति प्रकट गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
आयोगले प्रदर्शनलाई तोडफोड र आगजनीमा नपुर्याउन प्रदर्शनकारीलाई आह्वान गरेको छ भने सुरक्षाकर्मीलाई अत्यधिक बल प्रयोग नगर्न अनुरोध गरेको छ । साथै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा आयोगले जनाएको हो ।