काठमाडौं । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा ‘जेन–जी’ पुस्ता सडकमा उत्रिएका छन् । आज ( सोमबार ) काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सुशासनको पक्षमा आवाज उठाएका हुन् । प्रदर्शनमा विद्यार्थीहरु कलेजको यूनफिर्ममै सहभागी भएका छन् ।
‘जेन–जी’ युवाहरु केही नेता र मन्त्रीको फोटो भएको प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको फोटो र विभिन्न प्रकारका नारा लेखिएका प्लेकार्ड देखाएर उनीहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा कलाकार र अभियन्ताहरूको साथ र समर्थन रहेको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले समेत जेनजी पुस्ताको आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका थिए ।