काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।
जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर रु’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन ( भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।