ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दोस्रो विधान महाधिवेशन आज ( शुक्रबार ) बाट सुरु हुँदै छ । महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो । यो दोस्रो विधान अधिवेशन हो । दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन् । बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन् । सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ । सूर्य चिह्न अङ्कित झन्डाले सडक झकिझकाउ बनाएको छ । नेकपा ९एमाले० अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ ।
महाधिवेशनको सभा हलसम्म पुग्दा नवीन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वल्र्ड’ मा छिरेको अनुभव हुने एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले बताउनुभयो । पार्टीको पाँचौँ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गरिएकोमा यतिखेर सनराइज सभा हललाई पूरै डिजिटल सिस्टममा जोडिएको श्रेष्ठले दाबी गर्नुभयो । सभा हलको सिट सङ्ख्या दुई हजार ८४० रहेको छ । हलभित्र छिर्ने चार वटा प्रवेशद्वार राखिएका छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै प्रवेश गर्नुहुने छ । पार्टी पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नुहुने छ ।
प्रतिनिधिको परिचय स्क्यान गर्ने छ वटा कम्प्युटरका बुथ राखिएका छन् । सोही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनुहुने एमालेले जनाएको छ । मूल प्रवेशद्वारबाट प्रवेश गर्नासाथ हलको छतबाट पार्टी र चुनाव चिह्न सूर्य अङ्कित झन्डा लहरै फहराएका छन् । अन्तिम प्रवेशद्वारबाट क्याटरिङका लागि खाद्यान्न, खानेपानी ढुवानीका लागि खुला गरिएको एमाले बागमती प्रदेश कमिटी प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशन हल छिर्र्नासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्णकदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको उहाँले उल्लेख गर्नुभयो । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा ९एमाले० र अङ्ग्रेजीमा ‘सिपिएन युएमएल’ ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न सकिने उहाँले भन्नुभयो ।
हलको बायाँतिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएका छन् । पश्चिमतिर कार्लमाक्र्स, एङ्गेल्स र लेनिनको पूर्णकदसहित तस्बिर राखिएको छ । हलभित्र दुई हजार दुई सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको लामाले जानकारी दिनुभयो । सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन, हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन । उद्घाटनको काम १२ मिनेटभित्र सकिने छ ।
उद्घाटन समारोहमा मङ्गल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ । अध्यक्षले उद्घाटन गरेलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । २१ गते सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ ।
त्यसका लागि माथि छतमा चार, हल प्रवेश छेउमा दुई, हलभित्र दुई र बाहिर क्याटरिङ स्थलमा दुई वटा समूह छलफलका लागि व्यवस्था मिलाइएको लामाले उल्लेख गर्नुभयो । भोली प्रतिवेदनहरु माथी नौ वटा समुहमा छलफल हुने र पर्सी समुहले पेश गरेका प्रतिवेदन प्रष्तुती सहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।