काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुशासनलाई सुदृढ बनाउन र स्थानीय तहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइन्।
“सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यही क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु,” मन्त्री न्यौपानेले लेखेकी छन्। उनका अनुसार उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए। “आजदेखि सबै गाउँपालिका र नगरपालिका निमित्त विहिन भएका छन्,” उनले उल्लेख गरिन्। मन्त्री न्यौपानेले जिम्मेवारी पाउने प्रमुख प्रशासकीय अधिकृतहरुलाई बधाई दिँदै दक्षता र इमानदारीका साथ आफ्नो दायित्व पूरा गर्न आग्रह गरिन्।
साथै, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई पनि नवआएका अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमताको सदुपयोग गर्न सुझाव दिएकी छन्। उनले अभियानमा खटिएका मन्त्रालयका सचिव, सम्पूर्ण टोली र सचिवालयका सदस्यहरुलाई धन्यवादसमेत दिएकी छन्। यस्तै, उनले अबको अर्को चरणमा उपमहानगरपालिका र महानगरपालिकामा पनि निमित्त प्रणाली अन्त्य गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्। मन्त्री न्यौपानेले लेखेकी छन्, “आम जनताको हितलाई केन्द्रमा राखेर यो निर्णय गरिएको हो। यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु।”