काठमाडौं । रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको आरोप छ । बुधबार आफूविरुद्ध उजुरी परेपछि पाण्डे छलफलका लागि भोटाहिटीस्थित साइबर ब्युरो पुगेका थिए ।
प्रहरीले उनलाई अदालतमा पेस गन ढिला भएको भन्दै एक रात राखेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाण्डेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य र वातावरण वैज्ञानिकसमेत हुन् । यस्तै मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने प्रहरीले तीन घन्टामै हाजिर जमानीमा छाडेको थियो । महरमाथि रश्मिला धामीले आफूविरुद्ध चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी हालेकी थिइन् । महर सत्ताको आडमा तीन घन्टामै छुटेको भन्दै विरोध भइरहेको छ ।