काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।
एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरुसँग बालुवाटार भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताएको भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन् ।
नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न आग्रह गरेका छन् ।भेटपछि उनले भने, ‘१४ गते संसदमा कुरा राख्ने र संसद्को समेत विश्वास लिएर दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताउनु भएको छ।’