विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ। सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबिच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ बलियो बनाउन जोड दिए। उनले कृषि, श्रम, रोजगार, स्वास्थ्य लगायत क्षेत्रमा इजरायलसँग सहकार्य भइरहेको बताउँदै नेपाली मुख्य रूपमा कृषि र ‘केयर गिभर’ ( हेरचाहकर्ता ) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे।
नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यका लागि तयार रहेको बताए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराए। उनले प्रदेशका कृषकलाई शैक्षिक र व्यवहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरे। उनले भने, ‘कोशी प्रदेश सरकार महामहिम राजदूत मार्फत जोशीको रिहाइका लागि आग्रह गर्छ।’ मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगा मोरङ, गौरादह कृषि क्याम्पस झापा लगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे।
सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र गहिरो रहेको धारणा राखे। उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताए। इजरायलमा केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने प्रशस्त अवसरहरू रहेको जनाउँदै त्यसमा सीप, क्षमता विकास गरी जनशक्ति लैजान सकिने बताए। कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको भन्दै उनले कोशी प्रदेशसँग पनि आगामी दिनमा सहकार्य गर्न सकिने जानकारी दिए।
नेपालमा कृषि काम गर्ने ५० प्रतिशत भन्दा बढी जनशक्ति भए पनि सो अनुसारको प्रगति नभएको बताउँदै राजदूत बासले इजरायलमा थोरै जनसंख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिए। उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग मार्फत प्रगति हासिल गर्नुपर्ने आवश्यकता औंल्याए। रासस