काठमाडौँ । दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्तावका कारण विवाद भएपछि दुई महिनादेखि इजलास बस्न सकेको थिएन ।
बुधबार प्रधानन्यायाधीशले आफैँले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन् । यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिने गरिएको थियो। बुधबार संवैधानिक इजलासमा १५ वटा पेशी सुनुवाइका लागि तोकिएको छ । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग र अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।
बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ । हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दामा प्रारम्भिक सुनुवाइ हुन्छ भने बुधबार पूर्ण सुनुवाइ हुने गर्छ । सङ्घीय इकाईहरूबिचको विवाद, कानुन, संविधानसँग बाझिएका विषय र निर्वाचनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी तोकिएको यस इजलासमा संविधानको ‘गम्भीर व्याख्याको प्रश्न समावेश भएका’ अन्य विवाद पनि पठाइन्छ ।