काठमाडौं । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । जारी पूँजी २ अर्ब ८३ करोडको २०।७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।
भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।
कस्तो छ कम्पनी ?
कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो । बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीअन्तर्गत रहेको होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान छ । कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको छ ।
केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको छ । ब्याजसहित केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ ।
त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८२र८३ मा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ । साधारण लगानी फिर्ता अवधि अनुमान ८.२२ वर्ष रहेको छ । कम्पनीले स्काईवाक, बन्जीजम्प, स्विङ्ग तथा अन्य मनोरञ्जनात्मक पुर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ ।