दार्चुला । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । सीमा सुरक्षा सम्बन्धी १० औँ डीआईजी स्तरीय बैठक सम्पन्न भएको हो ।
बैठकमा सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलका अधिकारीहरूको बिचमा सीमा स्तम्भको अभिलेखीकरण गर्ने र मर्मतमा सहकार्य गर्ने सहमति भएको छ । सोमबार सम्पन्न बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ वैद्यनाथ बाहिनीका डीआईजी प्रदीपकुमार पाल र भारत अल्मोडा सेक्टर मुख्यालयका डीआईजी सुधांशु नौटियाल, सेक्टर मुख्यालयका डीआईजी अनिलकुमार शर्मा लगायत उपस्थित थिए ।
बैठकमा दुई देशको सीमा सुरक्षाबारे छलफल भएको वैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी प्रदिप कुमार पालले बताए । उनले भने, ‘यो नियमित बैठक हो ।’ बैठकमा दुई देशको सीमानामा ध्वस्त भएका वा हराएका सीमाना स्तम्भहरूको मर्मत र संरक्षण गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्नेबारे पनि छलफल भएको डीआईजी पालले जानकारी दिए ।