काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पूवर्धाधारविना तत्काल सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगराउन माग गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारले अनिवार्य सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाएको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘विगत वर्षदेखि नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरूपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको सर्वविदितै छ, हाल पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०८२र०४र२० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सार्वजनिक सूचना प्रकाशित गरी २०८२र६र१ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने सूचना प्रकाशित गरी मातहतका निकायमा निर्देशन जारी गरेकोमा महासंघको उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
महासंघले भौतिक पूर्वाधारविना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएको पनि बताएको छ। ‘इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलालाई यस महासंघ सम्मान गर्दछ, तसर्थ देशभरी रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास भएको छैन, वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीहरूले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नविकरण गर्ने र इम्बोस्ड नम्बरको राजश्वमात्र लिने कार्य भएको र भौतिक पूर्वाधार विना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पूर्नमूल्याकंन गरी आवश्यक सुधार गरी पूर्वाधार र प्रविधि विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
महासंघले यथास्थितिमा इम्बोस्ड नम्बर लगाउने निर्णयको देशभरीका व्यवसायीहरूबाट विरोध गर्न अनुरोध गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाउनसमेत अपिल गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको छ। यतिखेर उक्त सूचनाको चौतर्फी आलोचना भइरहेको छ।