काठमाण्डौं । लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै भारतले प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गर्दै नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ। ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हाम्रो अडान स्थिर र स्पष्ट रहेको छ।
लिपुलेक नाका हुँदै भारत र चीनबिचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौँदेखि चलिरहेको छ।’ कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको बताउँदै उसले दुवै पक्ष अब यसलाई पुनः सुरु गर्न सहमत भएको जनाएको छ। उसले लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि समेटेर जारी गरेको नेपालको एकपक्षीय नक्सालाई कृत्रिम विस्तार भनेको छ।
‘सीमा दाबीहरूको सन्दर्भमा हाम्रो अडान कायम छ कि त्यस्ता दाबीहरू न जायज छन्, न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘एक पक्षीय कृत्रिम विस्तार असम्भव छ।’ यद्यपि भारत संवाद र कूटनीतिमार्फत बाँकी सीमा मुद्दाहरू समाधान गर्न नेपालसँग रचनात्मक अन्तरक्रियाको लागि खुला रहेको विज्ञप्तिमा लेखिएको छ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको भनी प्रतिक्रिया सार्वजनिक गरेको थियो।