काठमाडौं । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन्। उनका अनुसार काबुल जाँदै गरेको बस मोटरसाइकल र मालबाहक ट्रकसँग ठोक्किएर आगो लागेको थियो।बसमा सवार सबै यात्रु र बससँग ठोक्किएका दुईवटा सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको छ।
इरानले आफ्नै देशमा द्वन्द्वका कारण भागेका अफगानी शरणार्थीलाई देशबाहिर पठाउने प्रक्रिया तीव्र पारेको छ। सन् १९७० देखि लाखौं अफगानी इरान र पाकिस्तानमा शरण लिएर बसेका छन्। यसमा सन् १९७९ मा अफगानिस्तानमा सोभियत आक्रमणका क्रममा र २०२१ मा तालिबान सत्ता फर्किएपछि ठूलो संख्यामा मानिसहरू समावेश छन्।