काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाई गर्न निर्देशन दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताएका हुन्।
सशस्त्रका डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाका अनुसार सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानविन र कारवाहीको भागिदार बन्ने महानिरीक्षक अर्यालले बताए।
हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उनले असल कार्यको लागि मुख्यालयको आदेशको पर्खाईमा बस्नु नपर्ने कुरा स्पष्ट पारेका छन्। महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरित कार्य गर्ने माथि कठोर हुन समेत निर्देशन दिए। सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न पनि उनले निर्देशन दिए।
सो क्रममा सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बिओपी कमाण्डरहरुलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमाण्डरहरुले सीम अपराध रोकथामको लागि सरोकारवाला सबै निकाय सँगको समन्वय र सहकार्यमा कार्य गर्न निर्देशन दिए।
सीमा क्षेत्रका स्थानीय वासिन्दा सँगको समन्वय र सहकार्य अझ महत्वपूर्ण रहेकाले त्यसमा समेत विशेष जोड दिन जरुरी रहेको उनले बताए। सीमा सम्बन्धी अभिलेखिकरण तथा त्यसको विविध पक्षहरुका बारेमा सबै तहका कमाण्डर जानकार हुनुपर्नेमा जोड दिँदै उनले प्रत्येक युनिटले गर्ने राम्रा कार्य र सफलता समग्रमा संगठन र मुलुकको सफलता सँग जोडिने भएकोले त्यसतर्फ अझ बढी संवेदनशिल हुन निर्देशन दिए। जटिल परिस्थितीमा प्रत्येक कमाण्डरले सहि निर्णय लिन सक्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरुले हाल सीमा क्षेत्रमा भईरहेका कामकारवाही सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा विओपी कमाण्डरहरुले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाको बारेमा जानकारी गराएका थिए।