काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् ।
वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थिषे । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।
‘उहाँहरूको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ,’ प्रचण्डले भने, ‘यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं ।’
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरे ।उनले भने, ‘गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो ।’ सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेका छन् ।