काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले आज भोलि नै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन मनसायले सांसदहरूको हस्ताक्षर सङ्कलन नगरिएको दाबी गरेका छन्। संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुखको बारेमा केही प्रशंग संसद्मा उठेको यथार्थ भएको बताए।
उनले भने, ‘अहिले रास्वपासहित केही दलहरूले भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदन बहिस्कार गरिरहेका छन्। हिजो उपसभामुखले पनि असम्बन्धित मान्छेलाई अमेरिका लैजानको लागि अमेरिकी दूतावासमा पत्र लेख्नुभएकै हो। त्यो विषय अहिलेसम्म राफसाफ भएको छैन। उहाँलाई आज भोलि नै सत्तारुढ दलहरूले पद अनुसारको आचरण नगरेको भनेर हटाउने प्रस्ताव ल्याउन लागिएको होइन। अहिले भर्खर कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन। तर उहाँमाथि प्रश्न उठेको छ।’
भिजिट भिसा प्रकरणले सदनमा विरोध र बहिस्कार चलिरहेको बेलामा सभामुखको विषयमा छलफल सतहमा आउनुलाई अन्यथा लिन नहुने बताए। उनले थपे, ‘तर उठेका बहस र छलफललाई समयक्रममा निरूपण गर्नुपर्छ। उहाँमाथि उठेको विषयमा संसद्ले राफसाफ पार्नुपर्छ। यो सरकारको विषय होइन। संसद्को विषय हो। तर आजभोलि नै उहाँलार्ई हटाउने प्रस्ताव राख्ने मनसाय छैन।’