काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन्। आज बिहान उनले विपिन सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जनाएका हुन्। प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएकाविपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए।
उनले सरकार विपिन सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको जानकारी गराए। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग आफूले पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको जानकारी दिए। उनको रिहाइका लागि आमा र बहिनी अहिले इजरायलमा छन्। त्यहाँ उनीहरुले राष्ट्रपति लगायतका विभिन्न संस्थालाई भेटेर विपीनको रिहाइको माग गरेका छन्।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्,
इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति र संसद अध्यक्ष ज्सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ।
यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार विपिन सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ।
बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ। इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद। विपिनका परिवारको साथमा सरकार छ।