काठमाण्डौं । देशभरका ५९ वटा स्थानीय तहरूले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानीय तहहरूले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन्।
आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानीय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिए। बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानिय तहहरू रहेका छन्।
बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानीय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट ल्याउन सहजीकरण गरिएको समेत उनले जानकारी दिए।तीमध्ये ७ वटा स्थानीय तहले चालू आर्थिक वर्षको लागी बजेट ल्याएको जानकारी गराएको र बाँकी स्थानिय तहले भदौ १० भित्र गाउँरनगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेको जानकारी आएको उनले बताए।
उनले भने, ‘हामीले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन नसकेको पाईएकोमा त्यो मध्ये ३२ वटा स्थानीय तहह रू मधेश प्रदेशमा मात्रै रहेको पाइयो’ उनले भने, ‘धेरैले मिति तोकेर बजेट ल्याउनको लागि सभाको आवह्वान गरिसक्नुभएको छ।’ पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले एक महिनामा गरेका ९ वटा क्षेत्रका नीतिगत सुधारका बारेमा जानकारी गराइएको थियो।