काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले पाई–पाई हिसाब गरेर बक्यौता असुल गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता एक–एक गरेर तिर्नुपर्ने बताएका हुन् । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्ता कम्पनीहरुले प्राधिकरणलाई २२ अर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । उक्त बक्यौता १०औं वर्षसम्म पनि नउठाएको भन्दै मन्त्री खड्काले आक्रोश व्यक्त गरे ।
‘१०औं वर्ष वक्यौता नउठ्दाखेरी यो वक्यौता उठाउने जिम्मेवारी हाम्रो हो, गर्नुपर्छ भन्ने लागेन तपाईँहरुलाई ? सरकारले के गर्दिन पर्ने ? तपाईँहरुलाई सम्पूर्ण जिम्मा दिएको छ । सरकारले जुन कानून भन्यो त्यो गर्दिएको छ । जसरी गर्नुस् भनेको छ, त्यो गर्दिएको छ । खाली भनेको यतिमात्रै हो नि सरकारले– कति प्रयोग गरेका हुन् उनीहरुले ? त्यो प्रयोग गरेको लेउ । प्रयोग नगरेको कुरामा हुलाकबाट चिठी पठाएजस्तो बिल पठाएर पैसा माग्न पाइँदैन नि । त्यसका आधारहरु हुन्छन्, प्रयोग गरेको तिर्नुपर्छ । उद्योग धन्दामा पनि बैंकको लगानी जोडिएको छ । प्रयोग गरिएको कुरा एक–एक गरेर तिर्नुपर्छ । त्यति क्षमता त राख्नुपर्यो नि प्राधिकरणले । दसौं वर्षसम्म किन लाग्यो ? वक्यौताहरु हिसाब गरेर पाई–पाई असुल गर्नुपर्छ,’– उनले भने ।
उनले नेपालको सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा रहेको बताए । अहिले रासायनिक मल कारखाना खोल्ने कुरा भइरहेको र त्यसका लागि समेत हजारौं मेगावाट विद्युत खपत हुने उनले बताए । ‘हाम्रो सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा क्षेत्र हो । हामीले मल कारखानाको कुरा गरिराखेका छौं । एउटै मल कारखानामा हजारौं मेगावाट विद्युत आवश्यक पर्छ । डेटा सेन्सर नेपालमै राख्न पाए हुन्थ्यो भनेर हामीले कुरा गरिराखेका छौं,’– उनले भने ।
साथै, उनले वर्तमान सरकारले निश्चित कामहरु गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिराखेका पनि बताए । उनले लामो समय स्थिर सरकार नहुँदा मुलुकले थुप्रै समस्या भोगेको बताए । अब सधैं समस्याको कुरामात्रै गरेर दिन टार्न नहुने बताउँदै उनले लक्ष्य पहिल्याउन कुद्ने प्रयत्न गर्नुपर्ने बताए ।
‘दुईवटा ठूला दलहरुसमेतको गठन भएको यो सरकार स्थिर सरकार हो । स्थिर सरकारले निश्चित काम गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ सरकारले काम गरिराखेको छ । केही टीकाटिप्पणीहरु छन्, नभएका होइनन् । लामो समय स्थिर सरकार नहुनका कारण, द्वन्द्वका कारण, विपद्का कारण मुलुकले थुप्रै समस्याहरु भोगिसकेको छ । अब सधैं समस्याको मात्रै कुरा गरेर हामीले दिन टार्नेमात्रै अवस्था रहँदैन ।
समस्यासँगै प्रगतिका कुरा गर्नुपर्छ, लक्ष्यका कुरा गर्नुपर्छ । संसारले हामीहरुलाई धेरै टाढा छोडिसकेको अवस्था छ । लक्ष्य पहिल्याउन पनि हामीले बामे सरेर हुँदैन, केही न केही कुद्ने प्रयत्न गर्नुपर्छ । अब यो सरकार कुद्ने प्रयत्नमा छ,’– उनले भने । उनले थुप्रै कानूनहरु संशोधन भएको, लगानीको मोडालिटी परिवर्तन गर्ने तयारी रहेको र सरकारले विभिन्न क्षेत्रमा लक्ष्यहरु लिएर अगाडि बढेको बताए ।