काठमाडौं। सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए । निवेदनमा अदालतले मागबमोजिमको आदेश दिए पनि उनको कारागार सरुवामा ढिलासुस्ती गरिएको भन्दै आलोचना भइरहेको थियो । कारागार विभागले हिजो लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेको थियो ।
लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपाेर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन्। रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ। लामिछाने चैत २५ देखि उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा छन् ।