ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । चार रात मध्ये आजको रातलाई मोहरात्रि भनिन्छ । आध्यात्मिक रूपमा अज्ञान, अंहकार र लोभलाई हटाई धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको रूपमा बुझिन्छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृति स्वरूप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।
श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । आजको दिन गोकुल, मथुरा, वृन्दावन, द्वारका आदि स्थानमा विशेष महोत्सव गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।