काठमाडौँ । सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ ।
निर्माण अवधि आगामी कात्तिकसम्म छ । ठेक्का लिने निकायले भने दसैंसम्म सबै काम सक्ने दाबी गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट सुरुङ सञ्चालन गर्ने निकाय छनोट गरेपछि यो सञ्चालनमा आउनेछ ।
कुन गाडीले कति पैसा तिर्नुपर्छ ?
जसअनुसार कार / भ्यानहरू काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ । कार भ्यान, जीप, पिकअप, माइक्रोबसलाई काठमाडौँ प्रवेशमा प्रतिपटक ७५ रुपैयाँ र जाँदा ५० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाइएको थियो । जसमा आउँदा १० रुपैयाँ घटाइएको हो भने जाँदा १० रुपैयाँ शुल्क बढाइएको छ ।
यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाएकोमा प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरी स्वीकृत गरिएको छ ।
बस तथा ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा बस तथा ट्रक प्रवेशमा २५० र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरी प्रस्ताव पठाइएको थियो ।
यस्तै भारी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ । भारी सवारीलाई प्रवेशमा ५०० र बाहिरिँदा ३०० रुपैयाँ तोक्न प्रस्ताव गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भने, ‘सुरुङमार्ग प्रयोग गर्न बाध्यात्मक छैन, स्वेच्छिक हो ।’