काठमाडौं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ ( क्यान ) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ ।उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् । ललितलाई मातृ शोक परेपछि उनी अस्ट्रेलिया नजाने भएका हुन् ।
अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो । अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।