कैलाली । कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावग्रस्त स्थितिलाई लिएर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ। घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार आकस्मिक भेटघाट भएको छ।
भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ। शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्को समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो।
उक्त सांघातिक हमलामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ भने करिब ४९ जना घाइते भएका छन्। घटनाको मूल जड ‘नन्दु सरकार’ र जयन्द्र शाह समूहबीच लामो समयदेखि चल्दै आएको गुण्डागर्दी र दुस्मनी हो। जुन २०७८ मा भएको भूपेन्द्र बडूवाल हत्याकाण्डसँग समेत जोडिएको छ। कारागार प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको गम्भीर लापरबाहीका कारण घटना भएको स्पष्ट देखिन्छ। आक्रमण हुनुभन्दा एक दिनअघि बिहीबार मात्रै दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए।
पटक(पटक तनाव हुँदा र सम्भावित हिंसाको सूचना पाउँदासमेत प्रशासनले सतर्कता अपनाएको देखिएन, जसको परिणाम स्वरूप कारागारभित्रै रक्तपातको स्थिति बन्यो। शुक्रबार रातिको घटनापछि कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा छ। उनीहरूले भित्रबाट गेटमा ताला लगाएर सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्।