भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको प्रसिद्ध एवं सांस्कृतिक गाईजात्रा पर्व शनिबार साँझदेखि विधिवत रूपमा सुरु भएको छ। दरबार स्क्वायर स्थित तलेजु मन्दिरबाट ‘घिन्ताङघिसी’ नाच ९लठी जुधाएर खेलिने नाच० निकालिएसँगै उपत्यकाकै सबैभन्दा लामो र आकर्षक मानिने यो जात्रा प्रारम्भ भएको हो।
जनैपूर्णिमाको साँझ तलेजुबाट निकालिने घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै जात्राको सुरुवात हुने परम्परा छ। यद्यपि, जात्राको मुख्य दिन भने भोलि ( आइतबार ) हो। आइतबार भक्तपुरमा विशेष उल्लास र धूमधामका साथ गाईजात्रा मनाइन्छ। देशभरबाट हजारौं जात्रालु प्रेमीहरू भक्तपुरको मौलिक जात्रा हेर्न आउने गर्दछन्। आइतबार मनाइने मुख्य दिनको प्रमुख आकर्षण नै घिन्ताङघिसी नाच हो। वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा प्रत्येक घरबाट निकालिने सयौं नाच टोलीहरूले दिनभर नगर परिक्रमा गर्छन्।
साथमा बजाइने बाजागाजा र नाचको रौनकले सहर नै गुञ्जायमान हुन्छ। मुख्य दिनको अन्त्यमा साँझपख पोटरी स्क्वायरबाट निकालिने बाँस र परालबाट बनेको ‘ताहमचा’ को परिक्रमा अर्को मुख्य आकर्षण हो। जसको समापनसँगै त्यस दिनको जात्रा सकिन्छ। भक्तपुरको गाईजात्राको तयारी घण्टाकर्ण ( गठेमंगल ) पर्व सकिएलगत्तै सुरु हुन्छ। टोलटोलमा नाच, नाटक र ख्याल ( प्रहसन ) का लागि हप्तौंसम्म रिहर्सल चल्छ। भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने उत्कृष्ट सांस्कृतिक प्रस्तुतिलाई नगद पुरस्कार दिने व्यवस्था गरेपछि जात्रामा थप रौनक र प्रतिस्पर्धा थपिएको छ।
यो जात्रा अवधिभर भक्तपुरमा दुई दर्जनभन्दा बढी मौलिक नाच ९प्याखं० प्रदर्शन गरिन्छ। देवी नाच, भैल नाच, बाँदर नाच, लाखे नाच, नागाचा नाच, ख्याः नाच, कवाँचा नाच, हनुमान नाच लगायतका सयौं प्रस्तुतिले जात्रालाई जीवन्त बनाउँछन्। संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार जनैपूर्णिमादेखि सुरु भएको यो जात्रा कृष्ण जन्माष्टमीसम्म चल्छ। यसलाई उपत्यकाकै सबैभन्दा लामो र सांस्कृतिक रूपले धनी जात्राको पहिचान दिइएको छ।