काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेशमा किचलो सकिएको छैन । बहादुरसिंह लामालाई दलको नेताबाट हटाएर आफू मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले समन्वय नगरेको भन्ने आरोप असन्तुष्ट पक्षले लगाएको छ । आज बहादुरले आफू पक्षधर सांसदहरुको छुट्टै भेला बोलाएका छन् ।
उनीहरुको बैठक काठमाडौंमा नै बस्नेगरि तय भएको उच्चस्रोतको दाबी छ । अहिले बहादुरको पक्षमा १५ जना सांसद छन् । लामाले पदबाट राजीनामा दिनुअघि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर शर्त राखेको कुरा बाहिरिएको थियो । तर, त्यो सहमतिबमोजिम मुख्यमन्त्री बानियाँ अघि नबढेको उनको आरोप छ। लामाले आफू पक्षधर सांसदलाई मन्त्री बनाउनको लागि देउवालाई भनेका थिए । त्यसमा देउवाले हुन्छ भन्ने जवाफ दिएका थिए ।
तर, मुख्यमन्त्रीले मन्त्रीहरु नियुक्त गर्दा त्यो सहमति पालना नगरेको लामाको आक्रोश छ । आफू पक्षधर सांसदहरुको भेला सकिएपछि आजै पार्टी सभापति देउवासँग भेट्ने उनीहरुको योजना छ ।