काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।
‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् । उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन् ।