काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले आफूले वहन गर्नुपर्ने भनिएको बिगोबराबरको बैंक जमानत लिएर थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन् । लामिछानेले गत साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दिँदै आफूले बहन गर्नु पर्ने बिगोबराबरको बैंक जमानतमा रिहाइको माग गरेका हुन् ।
लामिछाने उच्च अदालतको आदेशमा भैरहवा कारागारमा थुनामा छन् । यसअघि रूपन्देही अदालतले उनलाई एक करोड धरौटीमा रिहा गरेकोमा उच्च अदालतले सो आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुद्दा चलिरहेको सुरु जिल्ला अदालत रूपन्देहीबाट नै अब उनको मुद्दाको छिनोफानो हुनेछ ।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्त गर्न माग गरेका गरेका छन् । संहिताको दफा ६८ मा ‘अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने’ र दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि जमानतमा राख्न सकिने व्यवस्था रहेको छ ।