भारत । भारतको उत्तराखण्डस्थित उत्तरकाशी धराली गाउँमा बाढी आएको छ। मंगलबार बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको र कैयौं व्यक्ति बेपत्ता रहेको द हिन्दुले जनाएको छ। सामाजिक सञ्जालमा आएका भिडिओहरूमा कतिपय घरहरू समेत पुरिएको देखिन्छ।
संघीय गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग कुराकानी गरी उद्धारका लागि पूर्ण समर्थन हुने बताएका छन्।नेसनल डिजास्टर रेस्पोन्स फोर्स र इन्डो टिबेटन बोर्डर पेट्रोलको टोली उद्धारका लागि खटिएको छ। स्टेट डिजास्टर रेस्पोन्स फोर्स पनि घटनास्थलमा खटिएको थियो।
खीर गंगा नदी आसपासका क्षेत्रमा मुसलधारे वर्षा आएको थियो। उक्त वर्षापछि बाढी आएको स्थानीयहरूको भनाइ छ। घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले स्थानीयको उद्धार गरिरहेका छन्। हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ।
प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ। प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। पूरै क्षतिको मूल्यांकन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।