सिन्धुली । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोजना स्थलको स्थलगत निरीक्षणपछि उनले भने, “जुन गतिमा अहिले काम भइरहेको छ, यसरी त १० वर्षमा पनि आयोजना सकिँदैन।”
सिंहले निर्माण कम्पनीलाई तत्काल गति दिन चेतावनी दिँदै काममा देखिएको कमजोरीबारे संघीय सरकारलाई प्रतिवेदन बुझाउने तयारी भएको बताए । “हामीले अब स्थलगत रूपमा सबै कुरा बुझेका छौँ । प्रदेश सरकारको तर्फबाट प्रतिवेदन तयार पारेर संघ सरकारलाई बुझाउनेछौँ,” उनले भने।
मुख्यमन्त्री सिंहसँगै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मुख्य सचिव मदन भुजेललगायतको टोलीले आयोजना स्थलको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा आयोजना प्रमुख अच्युतराज गौतमले सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले समयभन्दा अगावै सम्पन्न गरे पनि मुख्य ठेकेदार ‘पटेल रमण जेभी कन्स्ट्रक्सन’ले सम्झौतामा उल्लेखित समयको आधा अवधि बित्दासमेत जम्मा १० प्रतिशत मात्र काम गरेको जानकारी दिए।
ऊर्जा मन्त्री शेषनारायण यादवले आयोजना मधेसको कृषि र खानेपानी सुरक्षासँग जोडिएको भएकाले कुनै पनि हालतमा समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए। “लाखौँ कृषकको भविष्य यस आयोजनासँग गाँसिएको छ। अब ढिलाइ सह्य हुने छैन,” उनले भने।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले निर्माणको गुणस्तरमा सम्झौता हुन नहुने स्पष्ट गर्दै निर्माण कम्पनीलाई सचेत गराए। निर्माण कम्पनीका प्रतिनिधि नवीन चौधरीले निरन्तर वर्षा, माटोको बनावट, स्थानीयको माग तथा सामाजिक–राजनीतिक कारणले काममा ढिलाइ भएको बताए। “पहिला केही समय निर्माण रोकिएको थियो, अब वर्षा सकिएपछि तीव्र गतिमा अघि बढ्छौँ,” उनले भने।
झन्डै ५० अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको आयोजना हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। त्यसमध्ये १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ। तर प्रगति भने ३६.८३ प्रतिशतमा सीमित छ।