काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिने विश्वास व्यक्त गरेका छन् । पूर्व सहमतिअनुसार तामाङले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने उनले बताए । तामाङ पनि संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको स्मरण गराउँदै उनले अहिले उनको त्यो हैसियत नरहेकाले राजीनामाको विकल्प नरहेको उनले बताए ।
‘उहाँले राजीनामा दिनुहुन्छ मलाई लाग्छ, विश्वास छ । उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेको मान्छे, एक पटक होइन, दुई पटक । पार्टीमा लामो योगदान गरेको साथी हो । सहमतिको यात्रामा कमीकमजोरी केही भयो होला । तर, मलाई विश्वास छ, उहाँले अब चाँडै नै राजीनामा दिनुहुन्छ होला । आजै भन्ने चाहिँ लाग्दैन । तर, चाँडै दिनुहुन्छ भन्ने कुरामा विश्वास छ,’– उनले भने ।
कांग्रेस संसदीय दलको विधानले दलको नेतामात्रै मुख्यमन्त्री हुन पाउने भन्ने व्यवस्था गरेको पनि नेता बानियाँले बताए । मुख्यमन्त्री तामाङले छिट्टै राजीनामा दिने उनले विश्वास व्यक्त गरे । ‘त्यही दलको नेताको हैसियतले हिजो उहाँ जानुभएको थियो । दलको नेताको हैसियत अहिले बहादुरजीको नरहेको हुनाले उहाँ स्वतन्त्र सांसद होइन, दलको माननीय हो । त्यसकारणले उहाँले अहिले त्यो जिद्दि गर्नुहुन्न भन्ने मलाई विश्वास छ । किनभने उहाँ पनि लामो राजनीतिक भविष्य भएको मानिस हो । त्यसकारले दलको हैसियतले गएको, दलको हैसियतले गठबन्धन बनेको, दुईवटा दल मिलेर सरकार बनेको हो । अहिले त्यो दलको नेताको हैसियत नरहेपछि मलाई लाग्छ उहाँले बुझ्नुभएको छ । सहमतिको कुरा पनि उहाँलाई थाहा छ उनले भने । साथै, उनले आफूलाई मुख्यमन्त्री बन्न सत्तारुढ दल एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे ।
एमाले संसदीय दलको बैठकले कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको पनि उनले सुनाए । बागमतीमा कांग्रेस र एमालेको गठबन्धन निरन्तर जाने कुरामा कुनै किसिमको दुविधा नरहेको उनले बताए । ‘राजनीतिक सहमतीको कुरा हो । बागमतीमा कांग्रेसको नेतृत्वलाई स्वीकार गरेको अवस्था छ भनेपछि अब समर्थनको कुरा एमालेका तर्फबाट आइसकेको छ । दलको बैठकको कुरा आइसकेको छ । उहाँहरुको समर्थनको कुरामा त दुईमत नै छैन नि,’– उनले भने ।