काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० द्वारा दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
उनले भने,‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएको छ।’ त्यसका लागि देशैभर खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको उनको भनाइ छ। यसले देशभर नै रंगशाला र खेल मैदानको कमी हुन नदिने उनको दाबी थियो।
‘अब छिट्टै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न लागिरहेका छौं,’ उनले भने, ‘दशरथ रंगशालाको क्षमता १५ हजार मात्र हो, यो सानो भयो।’ गत साउन १३ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव टंकलाल घिसिङ र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापालाई भेटर ५० हजार दर्शक क्षमताको सुविधासम्पन्न फुटबल रंगशाला निर्माणका लागि छलफल अगाडि बढाएको बताएका थिए।
उनले रंगशालाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–९ को जगाते क्षेत्रलाई सम्भावित स्थानका रूपमा हेरेका छन्। छलफलमा उक्त क्षेत्रको उपलब्ध जग्गा व्यवस्थापन, सरकारी निकायबीचको समन्वय र निर्माण प्रक्रिया छिटो अघि बढाउने विषयमा कुराकानी भएको उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै उनले भने,‘तिमीहरू हुर्किँदासम्म, खेलाडी हुँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसकेको हुनेछ।’