काठमाण्डौं । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुनर्स्थापना, रानी जमरा कुलरिया सिँचाइ आयोजना र विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जापान, विश्व बैंक र जर्मनीबाट गरी ३८ अर्ब रुपैयाँभन्दा बढीको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति, बढुवा, तथा नीतिगत विषयमा समेत महत्त्वपूर्ण निर्णयहरू गरेको छ। त्यस्तै, बैठकले केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ।